काठमाडौं : नेपालका बैंक तथा वित्तीय संस्था विदेशी ह्याकरको निसानामा परेको तथ्य खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई बंगलादेशीलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।
घटना विवरणअनुसार गत बुधबार नक्सालस्थित सानिमा बैंकबाट बंगलादेशी अहमेद विन मुसाले चेकमार्फत १० हजार रुपैयाँ झिकेर गएको केही समयमै त्यो सूचना सीआईबीमा पुगेको थियो।
सीआईबीले बिहीबार ठमेलबाट मुसासहित अर्का बंगलादेशी साह मोजाइमलाई कमलपोखरीबाट पक्राउ गरेको थियो। पक्राउ गरेपछि मात्रै रहस्य खुल्यो, सुरुमा उनीहरूले सानिमामा जिरो ब्यालेन्समा खाता खोलेका थिए।
अनलाइन बैंकिङ ट्रान्जेक्सनबारे जानकारी लिन थप तीन सय रुपैयाँ तिरेर उनीहरूले सुविधासमेत लिए। बैंकले खातावालाको युजर आइडी र पासवर्डमात्रै दिएकोमा मुसा र मोजाइमले अनलाइन नेटवर्क सिस्टम ह्याक गरी खातामा जम्मा भएको रकम बढाइदिएका थिए।
मुसाको खातामा जम्मा भएको रकमलाई बढाएर १० हजार कायम गरी बुधबार बिहान चेकमार्फत पैसा झिकेका थिए। अपराह्नको घटनाबारे बैंकले साँझ जानकारी दिएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।
सीआईबीका डीएसपी नरेशबहादुर मल्लका अनुसार मुसा र मोजाइमले बैंकिङ नेटवर्कमा अनधिकृत पहुँच पु:याएर डाटाबेसमै तोडमोड गरेका थिए। यो समूहमा अन्य पनि रहेको आशंका प्रहरीको छ।
मोजाइमले अन्य १२ जना नेपालीलाई पनि प्रलोभन देखाएर अन्य चारपाँचवटा वित्तीय संस्थामा खाता खोल्न लगाएको अनुसन्धानबाट खुलेको छ। दुवैजना पर्यटक भिसामा १५ दिनका लागि नेपाल आएको उनीहरूको राहदानीमा उल्लेख छ।
'उनीहरूले नेपाली खातावाललाई ठगीको रकमको दुई प्रतिशत रकम दिने प्रलोभन देखाएको अनुसन्धानबाट खुलेको छ', डीएसपी मल्लले भने।
उनका अनुसार बैंक तथा वित्तीय संस्थालाई ठगेर यो समूह एक सातामा एक करोड रुपैयाँ बंगलादेशतर्फ लैजाने तयारीमा थियो। बंगलादेशबाटै नेपाल घुम्न आउने नागरिकलाई गाइडको काम गर्दै आएका मुसा पटकपटक नेपाल आएको देखिन्छ।
'मुसाले नै बैंकमा खाता खोल्न नेपाली नागरिकको जोहो गरेको देखियो', मल्लले भने। मोजाइम भने सिंगापुर, मलेसिया, बैंकक र भारतसम्म पुगेको राहदानीले पुष्टि गर्छ।
अंग्रेजी र हिन्दीसमेत जानेका मोजाइमले थप विवरण खुलाउन नचाहेपछि उनीभन्दा माथि अर्को गिरोह रहेको आशंकामा सीआईबीले प्रहरी परिचालित गरेको छ। सीआईबीका अनुसार यी दुईमध्ये मोजाइम बैंकिङ नेटवर्क ह्याकिङमा समेत दख्खल राख्छन्।
सीआईबीका प्रमुख हेमन्त मल्ल ठकुरीले बैंकलगायत वित्तीय संस्थालाई यस प्रकारका घटना भएमा प्रहरीलाई जानकारी गराउन सबैसँग आग्रह गरेका छन्।
'उपत्यकाका ठूला वित्तीय संस्थाको नेटवर्क ह्याकिङ गरेर रकम निकाली विदेश लैजाने योजना उनीहरू पक्राउपछि तत्काललाई जोगियो। अझै पनि यस धन्दामा अन्य गिरोह सक्रिय रहेको आशंका छ, खोजी भइरहेको छ', ठकुरीले भने।
सुवास गोतामे
-annapurnapost.com
Post a Comment