काठमाडौं : नेपाली युवतीलाई चीन र कोरियामा बिक्री गर्ने गिरोह पक्राउ परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई महिना लामो अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको छ।
ब्यूरोले घटनाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ब्युरो प्रमुख डीआईजी हेमन्तमल्ल ठकुरीले भने, 'मासिक एक लाख रुपैयाँ तलब हुन्छ भनेर पेपर म्यारिज गरी नेपाली युवतीलाई चीन र कोरियामा बिक्री गर्ने गरेको तथ्य खुलेको छ।'
यस अभियोगमा पक्राउ पर्नेमा धापासी टोखा बस्ने पासाङ शेर्पा भनिने छेरु शेर्पा, बुढानीलकण्ठका बिपिन नगरकोटी र कोरियाली हि च्याङपार्क छन्। शेर्पा चुनदेवीमा सञ्चालित छेरु इन्टरनेसलन म्यारिज ब्युरोकी सञ्चालक हुन्।
'शेर्पा नेपाली युवतीलाई प्रलोभनमा पारी चीन, कोरियालगायत देशका नागरिकसँग विवाह गराएर पठाउने तथा विदेशी दलालसँग समन्वय गर्ने काममा सक्रिय रहेको पाइयो', डीआईजी ठकुरीले भने।
पक्राउ परेका कोरियाली हीले कोरिया तथा चीनका पुरुषलाई नेपाली युवतीको फोटो देखाए नेपाल बोलाउने दालालीको काम गर्दै आएको अनुसन्धानबाट खुलेको छ। नगरकोटीले भने नेपाली युवतीको खोजी गरी छेदु इन्टरनेसनलमा समन्वय गर्दै आएका थिए।
यो गिरोहले चुनदेवीमा घरभाडामा लिएर अवैध धन्दा चलाउँदै आएको ब्युरोले जनाएको छ। ठकुरीका अनुसार यो गिरोहले ललितपुर, भक्तपुरलगायतका केही जिल्ला प्रशासन कार्यालयमार्फत कम उमेरका किशोरीको उमेरसमेत बढाएर विवाह दर्ता गराएको रहस्य खुलेको छ। 'सीडीओ कार्यालयका कर्मचारीको मिलेमतोबारे पनि अनुसन्धान जारी', उनले भने।
छेदु इन्टरनेसनलले यसरी एक युवतीलाई चीन र कोरिया पुर्याएपावत दुई सय अमेरिकी डलर लिँदै आएको खुलेको छ। ब्युरोले छेदु इन्टरनेसनलको कार्यालयमा छापा मारेर ४५ वटा विवाह दर्ता प्रक्रिया पूरा गरिएका कागजसमेत नियन्त्रणमा लिएको छ। नेपालमा ८३ वटा म्यारिज ब्युरो दर्ता भएको अनुसन्धानबाट देखिएको छ।
ब्युरोका अनुसार यसरी नेपालबाट लगिएका युवतीलाई कोरिया तथा चीनमा पु:याएपछि छोरा नपाए यातना दिने गरेको पाइएको छ। विवाहको बहानामा विदेश पठाउने प्रक्रियामा रहेको पाँच नेपाली युवती र चीन पुगेर त्यहाँबाट भागेर आएकी एक युवती सम्पर्कमा आएपछि ब्युरोले अनुसन्धान तीव्र पारेको थियो।
सरकारका मुख्य सचिव लीलामणि पौड्यालले समेत यो घटना अनुसन्धान चासो देखाएका थिए। चीनबाट फर्किएकी युवतीले खरिदकर्ताले 'तिमीलाई २५ लाख रुपैयाँमा किनेको हो, छोरा नपाए मारिदिन्छु' भनेर समेत धम्की दिने गरेको बताइन्।
'अनुसन्धानका क्रममा सयभन्दा बढी युवती अवैध रूपमा चीन र कोरियामा बिक्री भएको खुलेको छ', ठकुरीले भने।
-nnapurnapost.com
Post a Comment