कतिखेर घर पुगौंला र परिवारसँग दुःखसुख साटौंला भन्ने कौतुहल लिएर एसपाल क्वालालम्पुरस्थित केएलआई टु इन्टरनेशनल एयरपोर्ट पुगे । उनले जब फ्लाइट चार्ट हेरे, एकैचोटी छाँगाबाट खसेझैं भए । राजधानी काठमाडौमा त्यही दिन विहान टर्किस एयरलाइन्सको विमान दुर्घटना भई त्रिभुवन विमानस्थल बन्द हुँदा एसपालको त्यस दिनको फ्लाइट रद्द भएको रहेछ ।
पाकेट खर्च ५० रिंगेटमात्र आफूसित राखेर सबै पैसा नेपाल पठाइसकेका उनी यतिखेर एयरपोर्टमा भोकभोकै फ्लाइट कुरिरहेको नागरिक दैनिकमा खबर छ ।
एसपालका अनुसार एयरपोर्टमा खाना बाहिरभन्दा चार गुण महंगो पर्छ । बेखर्ची भएपछि भोकभोकै नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल कहिले खुल्ला र घर पुगौंला भनेर कुर्नुको विकल्प उनीसँग छैन ।
टर्कीको इस्तानबुलबाट काठमाडौ पुगेको टर्किस एयरको जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर छेउको चौरमा धस्सिएको थियो । उक्त जहाजलाई अझै ट्रयाकमा तानिसकेको छैन । विमानस्थलबाट आन्तरिक उडान मात्र भरिएको छ । पटक पटक सूचना दिँदै बन्द गरिएको विमानस्थल पछिल्लो पटक शनिवार बिहान १० बजेसम्मका लागि नखुल्ने जनाइएको छ । कहिले खुल्ने हो, त्यो पनि निश्चित छैन । केएलआई टु एयरपोर्टका अनुसार उक्त विमानस्थलमा मात्र ३ सय नेपाली अलपत्र छन् ।
-www.onlinekhabar.com
Post a Comment