0




मंगलबार दिउँसो १:३० बजे। पारिलो घाम लागेको छ। घट्टेकुलो निवासी महेन्द्र राई एक जना ९० वर्ष हाराहारीकी वृद्धालाई हातमा समाएर घरको छतमा डोर्‍याएर डुलाई रहेछन्। महेन्द्र भनिरहेछन्,'यसरी हिडिएन भने खुट्टा कुँजो हुन्छ।'

यसरी डुलाइसकेपछि एकछिन घाम ताप्न बसाएर महेन्द्रले ती वृद्धालाई जुरूक्कै उठाएर बोके, अनि कोठामा लगेर थपक्कै सुताइदिए, मलमलको खोल भएको न्यानो सिरक ओडाएर।

ती महिला उनका हजुरआमा, आमा वा सानीआमा कोही पनि होइनन्, पारिवारिक साइनोका हिसावले। तर आफ्नी आमाजतिकै सम्मान र समर्पण छ, ती महिलाप्रति महेन्द्रको।

ती महिलाले अहिले कसैलाई चिन्दिनन्। विगत सात वर्षदेखि अल्जाइमरले उनलाई थलाएको छ। डेढ वर्षजति भयो, उनलाई अल्जाइमरले असाध्यै थलाएको। उनी कसैलाई चिन्दिनन्। त्यसैले महेन्द्र र उनकी जीवनसंगिनी शकुन्तलामध्ये एक जनाले निरन्तर ती महिलाको रेखदेख गर्नुपर्छ। यदि उनलाई रेखदेख नगरिए बरवाद हुनेछ।

खुवाउनु प:यो, सुताउनु प:यो। दिसा पिसाव गराउनुपर्‍यो। कहिलेकाहिँ ओछ्यानमै दिसा पिसाव गर्छिन्, सोहर्नुपर्‍यो। 'हेर्नुस् न, नेपालमा पाइने पञ्जाले नथामेपछि मैले उहाँको दिसा पिसाव सोहर्न बेलायतबाट अलि बलियो पञ्जा मगाएको छु', कलिजे रङको पञ्जा देखाउँदै महेन्द्रले भने।
महेन्द्र-शकुन्तला दम्पतिलाई पहिलो सन्तान लाभ हुँदै थियो, २०३९ सालमा। एक सहयोगी चाहिएको थियो, यो दम्पतिलाई। एक महिलाले हसिना थापा नामकी यी महिलालाई उनीहरूको बागबजारस्थित डेरामा ल्याइदिइन्। ती महिला थिइन्, यिनैकी कान्छि सौता। सन्तानलाभ हुनु एक महिनाअघि उनी सघाउन आइन्, महेन्द्र-शकुन्तलाको डेरामा।

यो दम्पतिलाई पुत्रलाभ भयो। सुत्केरी स्याहार र अन्य सहयोगी भूमिकामा हसिनाले देखाएको परिपक्वता र इमान्दारिताबाट यो दम्पति प्रभावित नहुने कुरै भएन। मीठो खाना पकाउने। घर र थाल भाँडा सफा पारेर टिलिक्कै।

इमान्दारितामा कुनै प्रश्न छैन। 'उहाँ भएपछि हामीलाई ढुक्क, हामीले कहिल्यै पनि कुनै कोठामा चावी लगाएर हिड्न परेन', महेन्द्र सभ्झन्छन्,'मेरो पाइन्ट धुँदा कहिलेकाहिँ गोजीमा पैसा हुने। उहाँले भिजेको अवस्थामा त्यो पैसा थपक्क हामीलाई दिनुहुन्थ्यो।

तपाईं आफै भन्नुस् त यो कतिसम्मको इमान्दारिता हो?' इमान्दारिता र काममा परिपक्वतासँगै हसिनामा ममताको खानी पनि देखियो। महेन्द्र-शकुन्तलाको जेठो सन्तानका रूपमा प्रवीणको जन्म भएको तीन महिनापछि नै तीन महिनाका लागि शकुन्तला नयाँ दिल्ली जान पर्‍यो, तालिमको शिलशिलामा।

उनी त्यतिखेर गुणस्तर निर्धारण समितिमा जागिरे थिइन्। आफ्ना शिशु छोरालाई हसिनाकै हातमा सुम्पेर ढुक्कै शकुन्तला नयाँ दिल्ली उडिन्। दिनभरि हसिनाले प्रवीणलाई हेर्ने अनि राती विद्युत प्राधिकरणका जागिरे महेन्द्रले।

पछि यो परिवार कमलपोखरी डेरा स:यो। तर प्रवीणले हसिनालाई नै खोज्न थाले, विरामी हुँदा अनि सुत्नेबेलामा पनि। बोली फुट्दा पनि पहिलोपटक हसिनालाई नै उनले 'आमा' भने। प्रवीणले साह्रै हसिनालाई खोज्न थालेपछि उनी ढुक्कै यो परिवारको सदस्यसरह उनीहरूकै डेरामा बस्न थालिन्।

- annapurnapost.com

Post a Comment

 
Top