महंगी बढ्दा एक वर्षमा ३ स्थान पछि धकेलियो
विश्वका सबैभन्दा सस्तो सहरको सूचिमा नेपालको राजधानी काठमाण्डौ नवौँ स्थानमा परेको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयु) ले सार्वजनिक गरेको विश्वका कुल १ सय ३३ वटा सहरको सूचिमा काठमाण्डौ १ सय २५ औँ स्थानमा पर्दै नवौँ सस्तो सहरका रुपमा सूचिकृत भएको छ ।
गएको वर्ष सातौँ सस्तो सहरको रुपमा रहेको काठमाण्डौमा पछिल्लो एक वर्षमा महंगी केही बढेको र दुइ स्थान माथि चढेर नबौँ स्थानमा पुगेको तथ्यांकले देखाएको छ ।
अमेरिकाको न्युयोर्कलाई आधार मानेर इआइयुले तयार पारेको कस्ट अफ लिभिङ इन्डेक्स अनुसार पाकिस्तानको कराँची विश्वको सबैभन्दा सस्तो सहरको रुपमा देखिएको छ ।
यो सूचकांक तयार पार्ने क्रममा खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामाग्रीहरुको खर्च लगायतका १ सय ६० वटा वस्तु तथा सेवामा हुने खर्चको तुलनात्मक अध्ययन गरिएको थियो ।
एसिया सबैभन्दा सस्तो सबैभन्दा महंगो
जीवनयापनको खर्च सूचकांकले एसिया महादेश विश्वको सबैभन्दा महंगो र सबैभन्दा सस्तो ठाउँ रहेको देखाएको छ । पाकिस्तानको कराँची र भारतको बैंगलोर विश्वको सबैभन्दा सस्तो सहरको रुपमा संयुक्त रुपमा पुछारमा रहँदा सिँगापुर भने लगातार दोश्रोपटक विश्वको सबैभन्दा महंगो सहरका रुपमा दहि्रएको छ ।विश्वका सबैभन्दा सस्ता १० सहरमा दक्षिण एसियाका ६ वटा सहर परेका छन् । पाकिस्तानको कराँची र भारतको बैंगलोर संयुक्त रुपमा सबैभन्दा पुछारमा रहँदा तेश्रो स्थानमा भारतकै मुम्बइ रहेको छ । पाँचौ स्थानमा भारतकै चेन्नइ, छैटौँमा नयाँदिल्ली रहेको छ । नबौँ स्थानमा नेपालको काठमाण्डौ रहेको छ । सस्तो सहरको सूचिमा चौथो स्थानमा भेनेजुयलाको काराकास, सातौँमा सिरियाको दमास्कस, आठौँमा इरानको तेहेरान र दशौँमा अल्जेरियाको अल्जियर्स रहेका छन् ।
विश्वको सबैभन्दा महंगो सहरको पहिलो नम्बरमा लगातार दोश्रोपटक सिंगापुरले स्थान सुरक्षित गर्दा अन्य पाँच महंगा सहर समेत यथावत रहे । अघिल्लो वर्षजस्तै टप फाइभ महंगा सहरका रुपमा दोश्रोमा फ्रान्सको पेरिस, तेश्रोमा नर्वेको ओस्लो, चौथोमा स्विजरल्याण्डको जुरिच र पाँचौमा अस्ट्रेलियाको सिड्नी रहेका छन् । त्यस्तै छैटौँ महंगो सहरका रुपमा अस्ट्रेलियाकै मेलवर्न, सातौँमा स्विजरल्याण्डको जेनेभा, आठौँमा डेनमार्कको कोपनहेगन, नवौँमा हंगकंग र दशौँमा दक्षिण कोरियाको सिओल रहेका छन् ।
-onlinekhabar.com
Post a Comment