0



काठमाडौं, २५ फागुन । ग्यास उद्योगीको लापरबाहीका कारण उपभोक्ताले बम जस्तै जोखिमपूर्ण ग्यास सिलिन्डर प्रयोग गरिरहेको खुलास भएको छ । उद्योगहरुले तोकिएको समयमा गर्नुपर्ने हाइड्रोलिक टेस्टमा बेवास्ता गर्दा उपभोक्तालाई जोखिम बढेको हो । नियमअनुसार सिलिन्डर बनेको १० वर्षपछि पहिलोपटक हाइड्रोलिक टेस्ट गर्नुपर्ने हुन्छ। त्यसपछि प्रत्येक पाँच वर्षमा टेस्ट गर्नुपर्ने नियम छ । ‘उद्योगीले हाइड्रोलिक टेस्ट नै गर्दैनन्,’ नेपाल गुणस्तर तथा नापतौल विभाग स्रोतले भन्यो, ‘२० वर्षसम्म उद्योग आफैंले गर्नुपर्छ। त्यसपछि हाम्रो रोहवरमा टेस्ट गर्नुपर्ने हो । तर गर्दैनन् ।’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार १० वर्षसम्म सिलिन्डर निर्माता कम्पनीले नै ग्यारेन्टी लिएको हुन्छ। त्यसपछि प्रत्येक पाँच वर्षमा सिलिन्डरको हाइड्रोलिक टेस्ट गर्नुपर्नेमा अहिलेसम्म उद्योगीले विभागलाई खबर नगरेको उनले बताए ।

महानिर्देशक पुडासैनीका अनुसार नेपाल ग्यास र साइबाबाले मात्रै हाइड्रोलिक टेस्ट गरेका छन् । ‘अरुले गर्छन् कि गर्दैनन्, केही जानकारी आउँदैन,’ उनले भने, ‘हाइड्रोलिक टेस्ट नगरिएका सिलिन्डर बम सरह हुन् ।’ हाइड्रोलिक टेस्ट गर्न छुट्टै मेसिनको व्यवस्था गर्नुपर्छ । देशभरका ५५ उद्योगमध्ये धेरैसँग मेसिन छैन। वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हाइड्रोलिक टेस्ट गर्दा सिलिन्डर फेल भए नष्ट गर्नुपर्ने हुन्छ। यसो गर्दा क्षति हुने भएकाले टेस्ट नगर्ने चलन छ। हाइड्रोलिक टेस्ट भनेको फेल वा पास छुट्ट्याउने प्रक्रिया हो । नतिजा राम्रो नआउने देखेपछि टेस्ट नै नगर्ने गरेको उद्योगी आफैं स्वीकार्छन। एउटा सिलिन्डर टेस्ट गर्न ५० रुपैयाँभन्दा बढी खर्च लाग्छ।

नतिजा खराब देखिए सिलिन्डर नष्ट गर्नुपर्छ । त्यसबापत उद्योगीले नयाँ सिलिन्डर जोडनु पर्छ । त्यो उद्योगीको नोक्सानी हो । यसबाट जोगिन टेस्ट नगरेको विभागले बतायो । लोड, अनलोड गर्दा सिलिन्डरमा असर पर्न सक्छ। यो क्रममा स–साना प्वाल पर्ने र ग्यास चुहिएर विस्फोटसमेत हुने हुनाले हाइड्रोलिक टेस्टलाई महŒव दिनुपर्ने पुडासैनीले बताए । ४० वर्षदेखि नेपाल ग्यासमा हाइड्रोलिक टेस्ट गर्दै आएका भरत केसीले एउटा सिलिन्डरलाई ३८० पाउन्ड बराबरको दबाब दिएर हाइड्रोलिक टेस्ट गर्नुपर्छ। यो टेस्ट गर्न ३० सेकेन्ड लाग्ने उनको भनाइ छ। एपली ग्यासभित्र फलाम, धुलो र लेदो हुन्छ । त्यसले सिलिन्डर प्वाल पार्न सक्छ। प्वाल परेको सिलिन्डर उपभोक्ताको भान्छामा पुगे पड्किन सक्ने उनको भनाइ छ ।

 विभागका अनुसार नेपालमा ग्यास उद्योग स्थापना भएको ४० वर्षभन्दा नाघिसकेको छ। तर, केहीबाहेकले हाइड्रोलिक टेस्ट नै नगर्ने विभागको भनाइ छ । पि”धको फुटरिङ र माथिको नेकरिङ गरिएका सिलिन्डरबाट पनि ग्यास बाहिर आउने सम्भावना बढी हुन्छ । सिलिन्डरको पि”ध भाग विद्युतीय ताप (वेल्डिङ) बाट काटेर पुनः अर्को पि”ध राख्ने काम फुटरिङ र माथिल्लो भागलाई काटेर पुनः राख्ने काम नेकरिङ हो । यो क्रममा दुईपटक गरिने वेल्डिङले सिलिन्डर कमजोर बनाउने र पछि विस्फोट समेत हुन सक्ने जानकार बताउँछन् । त्यस्ता सिलिन्डर सामान्यभन्दा अलिकति बढी चाप हुनासाथ चुहिन र पड्कन सक्छ । सात किलो थाम्ने सिलिन्डरलाई २५ किलोको प्रेसर दिएर टेस्ट गरिन्छ।

 ट्रकमा लोड गर्दा सिलिन्डर यताउता ठोकिन्छ र प्रेसर १५ किलोसम्म पुग्छ। यति हुँदा पनि सिलिन्डर नपड्कियोस भनेर २५ किलो प्रेसरमा टेस्ट गर्नुपर्ने हुन्छ । सरकारी तथ्यांकअनुसार फुटरिङ र नेकरिङ गरेका ५–६ लाख ग्यास सिलिन्डर बजारमा छन्। मापदण्डअनुसार आयु र हाइड्रो परीक्षणको मिति सिलिन्डरको मूलभागमा राख्नुपर्ने हुन्छ। तर पिधमा वा समाउने ठाउमा राख्ने चलन छ ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले आफ्नो कम्पनीले १० वर्षमा हाइड्रोलिक टेस्ट गर्ने गरेको बताए। ‘नापतौल विभागलाई बोलाउनुपर्छ भन्ने कानुनमा छैन,’ उनले भने, ‘विभागको उपस्थितिबिनै पनि टेस्ट हुन्छ ।’ २४ भन्दा बढी ग्यास उद्योग खुलेको १० वर्षभन्दा बढी भएको छ। ती सबै कम्पनीले हाइड्रोलिक टेस्ट गर्ने उनको भनाइ छ ।

-www.hamrosandesh.com

Post a Comment

 
Top