0


काठमाडौं, २५ फागुन ।
सार्वजनिक बसमा यात्रा गरेका तीन छात्रालाई दुर्व्यवहार गरेको आरोपमा चालक र सहचालकलाई कारवाही स्वरूप आफ्नो रुटमा प्रतिबन्ध गरिएको छ । यो साता बलेफी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई दुर्व्यवहार गरेको आरोपमा अरनिको यातायातका चालक र सहचालकलाई विभिन्न विद्यार्थी संगठन, प्रहरी प्रशासन, यातायात समितिलगायतको रोहवरमा उनीहरुलाई रुटमा प्रतिबन्ध गरिएको हो ।
छात्रालाई दुर्व्यवहार गरेको भन्दै काठमाण्डौं–बाह्रविसे रुट चल्ने बा २ ख ६५९५ नम्बरका चालक काभ्रेका बाबुकाजी बस्नेत र सहचालक रामेछापका दिनेश कार्कीलाई सम्बद्धहरुको एक बैठकले कारवाही गरेको हो । चालकलाई सिन्धुपाल्चोक र काभ्रेको सीमा बनदेऊदेखि सिन्धुपाल्चोकको रुटमा एक महिनासम्म गाडी चलाउन नपाउने र सहचालकलाई सो रुटमा दुई वर्षसम्म काम गर्न नपाउने कारवाही गरिएको हो ।
दोषी रहेका चालक, सहचालक, पीडित विद्यार्थी, अरनिको यातायात समितिका अध्यक्ष, जिल्ला ट्राफिक प्रहरी प्रमुख, विद्यालयका प्रअ, अनेरास्ववियु र नेपाल विद्यार्थी संघका प्रमुख तथाप्रतिनिधिसहित बसेको एक भेलाले कारवाही गरेको हो ।
यो साता सो गाडीमा यात्रा गरिरहेका बलेफी माविका तीन छात्रालाई दुर्व्यवहार गरेको थियो । विद्यार्थीहरुलाई ओर्लने ठाउँमा झर्न नदिई चालक र सहचालकको लापरवाहीले काभ्रेको दुर्व्यवहार गरी पाँचखाल पुर्‍याइएको थियो । बलेफीबाट चढेका उनीहरु दुई किलोेमिटर टाढा रहेको चिहाने बजारमा ओर्लनुपर्नेमा जर्वजस्ती पाँचखाल पुर्‍याएको छात्राहरुले बताएका छन् ।

विद्यालय छुट्टी भएपछि घर हिँडेका उनीहरुलाई अपहरण शैलीमा अन्यत्रै पुर्‍याएको भन्दै विभिन्न विद्यार्थी संगठन, विद्यालयलगायत स्थानीयले विरोध जनाएका थिए । विरोध स्वरुप उनीहरुले शनिबार अरनिको राजमार्ग अन्तर्गतको केही खण्डमा दोषीलाई कारवाहीको माग गर्दै यातायात ठप्प पारेका थिए ।
वार्तामा सहभागी अनेरास्ववियुका जिल्ला अध्यक्ष चरीबहादुर तामाङले चालक र सहचालक पनि मजदुर भएको र सबै ठाउँमा काम गर्न नदिने गरी कारवाही गरे उनीहरु आयस्रोतबाट वञ्चित हुने भएकाले सम्बद्ध रुटमा केही समयका लागि रोक लगाएको बताए। ‘केही समयसम्म यो रुटमा काम गर्न नदिदाँ उनीहरुमा विद्यार्थीप्रति रहेका आक्रोस सकिसक्छ,’ उनले भने, ‘विद्यार्थी र अन्य यात्रुलाई सुरक्षाको प्रत्याभूति दिलाउनका केही समयसम्मका लागि काम गर्न प्रतिबन्ध लगाइएको हो ।’ उनले तुरुन्तै यही रुटमा चालक र सहचालकले काम गरे रिस भइरहख्ने र जुनसुकै बेला अप्रिय घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दे यस्तो कारवाही गरिएको बताए ।

जिल्लामा सञ्चालित यातायात समितिले यात्रुलाई अनावश्यक दुःख दिने गरेकाले मिलापत्रको यही भेलाले विभिन्न सात बुँदे निर्णयहरु कार्यान्वयन गराउने सहमतिसमेत गरेको छ । विद्यार्थीलाई बिनारसिन छुट दिनुपर्ने, यात्रुलाई चालक र सहचालकले सभ्य व्यवहार गर्नुपर्ने, हरेक सवारी साधनमा भाडा दर देखिनेगरी टाँस्नुपर्ने, लक्षित वर्गलाई आरक्षण सिट उपलब्ध गराउनुपर्ने लगायत छ । सो भेलाले सहमति भएका निर्णयलाई कार्यान्वयन नगरे प्रचलित कानुनबमोजिम कारवाही गरिने समेत निर्णय गरेको छ ।

-hamrosandesh.com

Post a Comment

 
Top