0


९ मार्च, भक्तपुर । विश्वभर फैलिएका नेपालीहरुको साझा संस्था मातृभूमिका लागि युवा अभियान व्यापक विस्तारमा लागेको छ । नेपाल वाहिर ११ मुलुक र नेपालका ११ जिल्लामा रहेको अभियानले पछिल्लो समय सदस्यता विस्तारलाई पहिलो प्राथमिकता दिएको छ ।

सोही अनुसार भक्तपुरमा नयाँ सदस्यहरुलाई संस्थाको लोगो अंकित व्याच लगाई संस्थामा प्रवेश गराइएको छ । कौशलटारमा आयोजित कार्यक्रममा भक्तपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विकास श्रेष्ठले प्रवेशीलाई व्याच लगाइदिएका थिए । सदस्यता वितरण तथा चियापान कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले अबको युवा पिंढी सत्मार्गमा लाग्नुपर्ने र आफू रहेको क्षेत्र र मुलुकको हितका निम्ती सकारात्मक हुनु पर्ने बताए । देशको विकास आफैंले गर्न कम्मर कस्नु पर्ने र युवा पुस्तामा बढ्दै गएको विकृतिलाईसमेत ख्याल गर्न उनले सहभागीलाई सुझाव दिए ।

सन् २०१५ को शुरुवातीसँगै संयुक्त अरब इमिरेट्सको दुवईवाट विस्तारित संगठनलाई झन फराकिलो बनाउन आयोजित कार्यक्रमा मातृभूमिका लागि युवा अभियानका केन्द्रीय उपाध्यक्ष अनुज थापाले ६० वर्षमा जापानले आफूलाई विश्वसामु आर्थिक समृद्धि सहितको शक्तिशाली राष्ट्रका रुपमा स्थापित गरेको स्मरण गराउदै सोका लागि युवाहरु चरम राष्ट्रवादसहितको दृढ संकल्पमा जुट्न सके नेपालले पनि आफूलाई विश्वमा स्थापित गराउन दशक कुर्न नपर्ने बताए । विशिष्ट अतिथिका रुपमा उपस्थित थापाले विश्वभरका सक्षम र सवल नेपालीलाई नेपालमा लगानी भित्र्याउन आग्रह गरे । उनले त्यसको शुरुवाती आफैंवाट गरिरहेको प्रष्ट पारे ।



नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले युवा शक्ति मुलुकका गहना भएकाले युवा एकताले मात्र मातृभूमिको विकास हुने प्रष्ट पारिन् । उनले विश्वभरका जो कोही नेपालीले एक जनाले एक जनालाई मात्र सहयोग गरी विकास निर्माणका लागि नैतिक जिम्मेवार भई दिने हो भने समृद्ध देश बनाउन राजनीतिक भर पर्न नपर्ने उद्घोष गरिन् । इभेन्ट मेनेजमेण्टमा स्थापित मानन्धर सामाजिक क्षेत्रमा सक्रिय जुझारु महिला हुन् ।

केन्द्रीय समितिका प्रवक्ता विष्णुहरी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय युवा सन्तोष सिल्वाललाई भक्तपुर जिल्ला तदर्थ समितिको संयोजक चयन गरिएको छ । स्वेता शिवाकोटी, कविता थापा, पवन सिल्वाल, सम्राट आचार्य, अविरल कार्की, पूजा कुटु, पिमस सुवाल, निर्मल थापा मगर, सचिन भण्डारी तथा विवेक केसी लगायत संस्थामा आवद्ध भएका छन् । सदस्यहरुलाई स्वागत गर्दै कार्यक्रमका सभापति दाहालले युवामा असिम शक्ति र चाहना रहेकाले आफूभित्रको चहनालाई रचनात्मक ढंगवाट संस्थागत कार्यमा लाग्न प्रेरित गरे ।

कार्यक्रममा युवा संघ भक्तपुरका अध्यक्ष दीपक दाहाल, फोरम लोकतान्त्रिकका युवा अध्यक्ष प्रविण वलामी, नेपाल पत्रकार महासंघका सचिव जगत प्रजापती लगायतले अभियानलाई शुभकामना व्यक्त गरे । विज्ञान घिमिरेले सञ्चालन गरेको औपाचारिक कार्यक्रममा २ सय युवा सहभागी भएको दुसवी भट्टराईले जानकारी दिइन् ।

-tokyonepal.com

Post a Comment

 
Top