0



काठमाडौं, २५ फाल्गुन । भेट्रान सन्जम रेग्मी पनि यही मौकामा चौका हान्दै
नेपाली क्रिकेट खेलाडीका लागि यो विवाहको मौसम नै जस्तो छ । राष्ट्रिय टोलीका कप्तान पारस खडकासहित वसन्त रेग्मी, अमृत भट्टराई, प्रदीप ऐरी यही सेरोफेरोमा वैवाहिक जीवनमा प्रवेश गरिसकेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

भेट्रान सन्जम रेग्मी पनि यही मौकामा चौका हान्दै छन् । सोमबार उनको सरस्वती गौतमसँग दाम्पत्य जीवनमा बाँधिँदै छ । आइतबार उनी नेपाल एपीएफ क्लबको जर्सीमा उत्रिए । सन्जमजस्ता क्रिकेटरका लागि मैदानमा उत्रिनु दैनिकीजस्तै हो । सन्जमका लागि बाध्यता थियो ।

सन्जमले विवाहको अघिल्लो दिनको पूर्वाङ्ग बिहानै सकिसकेका थिए । धार्मिक संस्कारमा पूवाङ्ग गरेपछि घरबाट निस्कनु हुँदैन भन्ने मान्यता छ । हजुरआमाका हातबाट टीका थाप्दै त्रिवि क्रिकेट मैदान हानिनुको विकल्प सन्जमसँग थिएन । ‘विवाहको अघिल्लो दिन घरमा पूजा गरिसकेपछि खोलानाला काट्नु हुँदैन भन्थे । खेलाडीका हकमा यो सबै सम्भव हुँदैन,’ सन्जम बाध्यता पोख्छन् ।

वसन्त, अमृतसहित शक्ति गौचन र शरद भेषवाकर पारिवारिक व्यस्तताका कारण उपस्थित नभएकाले एपीएफमा खेलाडीको समस्या परिसकेको थियो । वैवाहिक व्यस्ततामै रहेका पारस पनि अनुपस्थित हुने भएपछि एपीएफसँग वैकल्पिक खेलाडी थिएन । सन्जमलाई उतार्नु उनीहरूको बाध्यता थियो ।

१० औं नम्बरमा ब्याटिङ गरेका सन्जमले १ चौकासहित ७ रन बनाए । रिभर्स स्विप गर्न खोज्दा उनी प्रसन्न शाक्यको बलमा एलबीडब्लू आउट भए । अफ स्पिनर सन्जमले आफ्नो खेल जीवनमा एलबीडब्लूमा धेरै विकेट लिएका छन् । उनी आफू आउट भएकामा हत्तपत्त ‘कन्भिन्स’ हुँदैनन् । इनिङ्स ब्रेकका क्रममा भन्दै थिए, ‘म पहिला पनि यसरी नै खेल्दा आउट भएको थिएँ ।’

बलिङमा सन्जमले यस्तो प्रदर्शन गरे जसले उनलाई निर्विकल्प म्यान अफ द म्याच बनायो । उनले १० ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । ७ ओभरको पहिलो स्लेपमा उनले ३ विकेट लिँदै खेलको उत्कृष्ट खेलाडीलाई आफ्नो दावेदारी प्रस्तुत गरिसकेका थिए । एक हिसाबमा यो उनको पुनरागमन खेल थियो । त्यसमा उनले आफू अझै उत्कृष्ट रहेको प्रमाणित गरिदिए ।

सन् २००१ देखि सन्जम राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । नेपालले २०१३ मा बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन ३ जितेयता सन्जम नेपाली राष्ट्रिय टोलीमा छैनन् । ३२ वर्षे सन्जमले पछिल्लो समय आफ्नो तौल १० केजी घटाएका थिए । यो उनले विवाहका लागि घटाएका होइनन्, नेपाली टोलीमा पुनरागमनका लागि । राष्ट्रिय टोलीबाट खेल्ने उनको चाहना अझै मरेको छैन ।

-todaykhabar.com

Post a Comment

 
Top