-गोपाल गडतौला, झापा
९ फागुनमा विराटनगरमा भएको विराट गोल्डकपमा बलियो विभागीय टोली नेपाली सेनालाई २–१ गोलअन्तरले पन्छाउँदै झापा–११ ले उपाधि आत्मसात् गर्यो। यो वर्ष नै चारपटकसम्म सेनासँग भिडेको झापाको यो पहिलो जीत थियो।गएको २५ भदौमा काठमाडौंमा एन्फाकपमा संकटा क्लब विरुद्ध ४–० को सहज जीत निकाल्दै झापा–११ ले नै उपाधि हत्याएको थियो।काठमाडौंका नामी क्लब सहभागी भएको प्रतियोगितामा मोफसलको जीत दुर्लभ बनेकै बेला झापा–११ ले ६ महीनाबीच दुई वटा महत्वपूर्ण उपाधि आफ्नो नाममा लेखाउनु सामान्य होइन।
अहिले झापा जुनसुकै प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोलीका रुपमा दरिन थालेको छ। २२ वर्षअघि राष्ट्रव्यापी अण्डर–१६ प्रतियोगिता जित्नुयता झापाले कुनै पनि प्रतियोगिताको उपाधि चुम्न सकेको थिएन। चन्द्रगढीको मुनाल, धुलाबारीको रोलिङ, काँकडभिट्टाको नाइटचेस र दमकको ध्रुवतारा क्लब प्रतियोगितामा राम्रो खेल्थे, तर उपाधि अरुले नै हत्याउँथ्यो।
नेपालको जुनसुकै टोली हराउने सामर्थ्य राख्छौं। -भगीरथ आले प्रशिक्षक एवं जिल्ला फूटबल संघ उपाध्यक्ष,
नेपालको जुनसुकै टोली हराउने सामर्थ्य राख्छौं।
“अहिले त्यस्तो स्थिति छैन, हामी नेपालका कुनै पनि टोली हराउने सामर्थ्य राख्छौं”, झापा–११ का प्रशिक्षक एवं जिल्ला फूटबल संघ, झापाका उपाध्यक्ष भगीरथ आले भन्छन्। २०४१–४३ सालसम्म राष्ट्रिय फूटबल टोलीका सदस्य समेत रहेका आले १७ वर्षअघिको अण्डर–१६ राष्ट्रिय फूटबल प्रतियोगिता नै झापाको फूटबल विकासको महत्वपूर्ण उपलब्धि भएको बताउँछन्।
२०५४ सालमा भएको उक्त प्रतियोगितामा झापाली टीम सेमिफाइनलसम्म पुगेको थियो। कुनै समय नेपाली फूटबलमा मिडफिल्डर र स्ट्राइकर दुवैमा नाम कमाएका पूर्व राष्ट्रिय खेलाडी प्रवेश कटुवाल त्यही प्रतियोगिताकै उत्पादन हुन्। उनै कटुवाल अहिले झापा–११ का कप्तान छन्।
जीतको कारण
यत्तिकैमा झापाको फूटबलमा आइपुगे, पूर्व बेलायती सैनिक जलकुमार गुरुङ। जिल्ला फूटबल संघको नेतृत्व सम्हालेका गुरुङकै लगनले अहिलेको झापाली टीम यो स्थानमा आइपुगेको हो। “चन्दा सहयोग र प्रायोजक जुटाएरै खेलाडीलाई सुविधा दिएका छौं, वार्षिक बजेट पनि रु.३० लाख जति पुर्याएका छौं”, उनी भन्छन्।
दुई वर्षयता झापामा फूटबलको माहोल बन्दो छ। एनसेलको प्रायोजनमा जिल्लामा माध्यमिक विद्यालयस्तरीय अण्डर–१४ फूटबल प्रतियोगिता चलिरहेको छ। रेडबुलको प्रायोजनमा जिल्लास्तरीय लीग प्रतियोगिता पनि हुने गरेको छ।
यतिबेला झापाली टोली चैत पहिलो सातादेखि शुरु हुने राष्ट्रिय लीग प्रतियोगिताको तयारीमा जुटेको छ। बिर्तामोडको डोमालाल रंगशाला बिहान–बेलुकी फूटबलमय देखिन्छ। महीनाको रु.२५ हजारमा दुई तला घर भाडामा लिएर २५ खेलाडीलाई प्रशिक्षण दिइरहेको छ। जहाँ प्रत्येक खेलाडीले मासिक रु.२५ हजारदेखि रु.६० हजारसम्म पाउँछन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट
Post a Comment