
नेपाली आख्यान (कथा र उपन्यास) विधामा पहिलोपटक यौन मनोवैज्ञानिक धारालाई भित्र्याउनु हुने आख्यानकार बिपी कोइरालाले आफ्ना अधिकांश साहित्य रचना सुन्दरीजल बन्दीगृहमा गर्नुभएको पुष्टि भएको छ ।
उहाँलाई तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते आफ्नो हातमा सत्ता लिएपछि केही समय सिंहदरबारको बरफबागमा दुई महिना राखेर फागुनमा सो बन्दीगृहमा सारिएको थियो । वरिपरि डाँडाकाँडा, हरियालीको ग्रामीण परिबेस एवम् आफ्ना खारिएका विश्व साहित्यको अध्ययनबाट नै बन्दीगृहमा उहाँले साहित्यको नयाँ आयाम सुरु गर्नुभएको उहाँका बारेमा विद्यावारिधि गर्नुभएका विद्वानहरुले जानकारी दिनुभएको छ ।
कोइरालालाई बन्दीगृहमा लैजानुअघि एउटा मात्र कृति दोषी चश्मा कथा सङ्ग्रह प्रकाशित भएको थियो । यसपछि सबै कृति सुन्दरीजल बन्दीगृहमै जन्मिएको प्राज्ञ प्राडा ज्ञानु पाण्डेले बताउनुहुन्छ ।
‘बिपीको उपन्यासमा अस्तित्ववाद’ विषयमा विद्यावारिधि गर्नुभएकी प्राज्ञ पाण्डे राजनीतिक व्यस्तताका कारण विसं २००७ देखि २०१७ सम्ममा कोइरालाको कुनै साहित्यिक कृति प्रकाशनमा आएन तर बन्दी जीवन सुरु भएपछि त्यहीँ नै साहित्यिक कृतिका लागि उर्वरा स्थल बन्यो भन्नुहुन्छ ।
तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदीआइन, बाबुआमा र छोरा एवम् हिटलर र यहुदी गरी छवटा उपन्यास तथा श्वेतभैरवी कथा सङ्ग्रह, जेल जर्नल, फेरि सुन्दरीजल र आफ्नो कथालगायतका कृतिको रचना पनि कोइरालाले बन्दीगृहमै बसेर गर्नुभएको थियो ।
“बिपीको सर्वाङ्गीण पक्षलाई हेर्ने हो भने उहाँको साहित्यलाई हेर्नुपर्छ, राजनीतिक रुपमा मात्र मूल्याङ्कन गरेर हुँदैन”, प्राज्ञ पाण्डेले भन्नुभयो ।
सुन्दरीजल बन्दीगृह २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा परिणत भएपछि राजनीतिक व्यक्तित्वलाई झल्काउने चीजबिजको मात्र सङ्ग्रह गरी उहाँको साहित्यिक व्यक्तित्वलाई ओझेलमा पारिएकामा विद्यावारिधि गरेका साहित्यकारले असन्तुष्टि जनाएका छन् ।
“बिपीको व्यक्तित्वबाट साहित्य झिकिदिने हो भने बाँकी व्यक्तित्वले मात्र उहाँलाई पूर्णता दिन सक्दैन”, प्राज्ञ पाण्डे भन्नुहुन्छ ।
नेताहरुलाई राख्न सुन्दरीजल आर्सनलका प्रमुख बस्ने सरकारी निवासलाई रातारात वरिपरिबाट पर्खालले घेरी बन्दीगृह बनाइएको थियो । बन्दीगृहमा बिपीसँगै प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्रीहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, प्रेमराज आङ्देम्बे र सहायक मन्त्रीहरु दीवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङलाई सारिएको थियो ।
बन्दीगृहमा सारेपछि नै बिपी गृहभित्रको बूढो कपूरको रुखमुनि बसेर पुस्तक पढ्ने र लेख्ने गरिरहेको देखिने गरेको जेलमा दूध लैजाने अनुमति पाउनुभएका स्थानीय मोदनाथ पोखरेलले बताउनुभयो ।
“बिहान दूध लैजाने र दिउँसो बन्दीगृहभित्र घाँस काट्न अनुमति दिएकाले बिपीले कपूरको रुखमुनि बसेर लेखपढ गरिरहेको देख्थे, सुरुमा कुराकानी गर्न पहरा दिइबसेका सैनिकले कडाइ गरे पनि पछि केही खुकुलो भएका बेला बिपीले नै बोलाएर कुराकानी पनि हुन्थ्यो ।” उहाँले बिपीसितको स्मरण सुनाउनुभयो ।
उपचार र राजनीतिक कामका लागि २०२५ सालपछि बिपी र गणेशमान भारत निर्वासनमा जानुभएको थियो । २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवै नेतालाई सिधै सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । यसपछि लेखिएको बिपीको दैनिकीलाई फेरि सुन्दरीजलका नाममा प्रकाशित गरिएको छ ।
सङ्ग्रहालयका अध्यक्ष पर्शुराम पोखरेल सङ्ग्रहालयलाई राजनीति, साहित्य र दर्शनको त्रिवेणी धामका रुपमा स्थापित गर्ने अभियानमा लागिएको बताउनुहुन्छ ।
“सङ्ग्रहालयमा बिपीको साहित्यिक सबै कृतिका साथै उहाँको साहित्यिक चीजबीजको पनि सङ्ग्रह गरिएको छ, कार्यक्रम चाहिँ साहित्यिक गर्न सकिएको छैन, बिपीसम्बन्धी साहित्यिक कार्यक्रम गर्ने सोचमा पनि हामी लागिपरेका छौँ, यसका लागि साहित्यकारको सक्रिय सहभागिताको महसुस गरिएको छ”– उहाँले भन्नुभयो ।
बिपीलाई जतिबेला अन्तर्राष्ट्रिय तत्वका नाममा जेलमा राखिएको थियो । त्यही समयमा बिपीको साहित्य भने विश्वविद्यालयमा पढाइ हुन्थ्यो । साहित्यबाट बिपीले सामाजिक सन्देश दिन खोजे पनि त्यस समयमा मनोवैज्ञानिक धाराका साहित्यकारका रुपमा चिनाइएको प्राज्ञ डा पाण्डे बताउनुहुन्छ ।
हरिप्रसाद पराजुलीले २०३७ सालमा ‘कथाकार विश्वेश्वरप्रसाद कोइरालाको विश्लेषण र मूल्याङ्कन’ विषयमा विद्यावारिधि शोध गर्नुभएको थियो । डा ध्रुवचन्द्र गौतमको निर्देशनमा भएको शोध व्यवस्थाका कारण २०४५ सालमा मात्र सम्पन्न भएको थियो ।
अहिलेसम्म डा कृष्णप्रसाद दाहाल, डा नारायण चालिसे, डा रेणुका बस्नेत थापा (सोलु) डा भूपति ढकाल (कमल), डा वीरेन्द्र पुडासैनी, डा श्यामप्रसाद भट्टराई, डा देवचन्द्र मिश्र, डा राधा शाह र डा सूर्य सङ्ग्रौलालगायत १५ जनाले बिपीको साहित्यमा आधारित भई विद्यावारिधि शोध सम्पन्न गरेको बिपी ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।
“शोधका क्रममा मैलै प्रत्यक्ष रुपमा कोइरालासँग छ घन्टा लामो अन्र्तवार्ता गरेँ, अन्तरवार्ताका क्रममा उहाँको हिटलर र यहुदी २०१५ सालमा प्रधानमन्त्री भएका बेलामा सुरु गरी २०१७ पुस १ गतेको घटनापछि सुन्दरीजल बन्दीगृहमै पूरा गरेको बताउनुभएको थियो”– कोइरालाको कथामा पहिलो विद्यावारिधि गर्नुभएका पराजुलीले भन्नुभयो । रासस
Post a Comment