0

अधिकारीहरुका अनुसार अनुमान गरिएको भन्द फरक क्षेत्रमा समुद्री आँधीको प्रवेश भएको थियो

सहायता संस्थाहरुले शुक्रबार आएको समुद्री आँधीका कारण टापु राष्ट्र भानुआटुको राजधानीका ९० प्रतिशतसम्म घरहरुमा नराम्ररी क्षति पुगेको वा ध्वस्त भएको बताएका छन्।
उनीहरुले आँधीबाट प्रभावित भानुआटुका दुर्गम क्षेत्रहरुमा पुग्ने प्रयासमा तीव्रता दिन लागिएको जनाएका छन्।
उक्त आँधीका कारण अहिलेसम्म कम्तीमा ८ जनाको ज्यान गएको बताइएको छ।
दुर्गम क्षेत्रहरुबाट समाचार आउने क्रम जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

आश्रय

यस प्रशान्त क्षेत्रमा देखिएका सबैभन्दा नराम्रा प्राकृतिक विपद्मध्ये यो एक हुन सक्छ, मानवीय सहायता ठूलो स्तरमा आवश्यक पर्न सक्छ
अधिकारी, अक्सफाम अष्ट्रेलिया
आँधीका कारण घरमा क्षति पुगेपछि वा नष्ट भएपछि हजारौं मानिसहरुले अन्यत्र आश्रय लिएर दोस्रो रात बिताएका छन्।
२ सय ७० किलोमिटरको वेगमा रहेको समुद्री आँधी अनुमान गरिएको बाटो फेर्दै शुक्रबार राति बसोबास भएको क्षेत्रमा पुगेको थियो।
भानुआटुका २ लाख ६७ हजार मानिसहरु ६५ वटा टापुमा छरिएर बस्दछन्, जसमध्ये ४७ हजार राजधानी पोर्ट भिल्लामा बस्दछन्।

पोर्ट भिल्लाका ९० प्रतिशतसम्म घरहरुमा क्षति पुगेको वा ध्वस्त भएको बताइएको छ
आइतबार एउटा विज्ञप्तिमार्फत अक्सफाम अष्ट्रेलियाले पोर्ट भिल्लाका ९० प्रतिशत घरहरुमा गम्भीर रुपमा क्षति पुगेको जनाएको छ।

सहायता

पोर्ट भिल्लामा रहेका अक्सफाम अष्ट्रेलियाका एकजना अधिकारीले भने, “यस प्रशान्त क्षेत्रमा देखिएका सबैभन्दा नराम्रा प्राकृतिक विपद्मध्ये यो एक हुन सक्छ, मानवीय सहायता ठूलो स्तरमा आवश्यक पर्न सक्छ।”
आश्रय, स्वच्छ खानेपानी र सरसफाई तत्काल आवश्यक रहेको ती अधिकारीको भनाई थियो।

पोर्ट भिल्लास्थित वर्ल्ड भिजनकी एकजना आपतकालीन सञ्चार अधिकारीले स्थानीय बासिन्दाहरुले आइतबार तुलनात्मक रुपमा शान्त मौसम देख्न पाएको बताइन्।
धेरै क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको र छरिएर रहेका आफ्ना ७६ जना कर्मचारीहरुसँग सम्पर्क स्थापित हुन नसकेको उनले जनाइन्।
















-BBC

Post a Comment

 
Top