लीलानाथ घिमिरे
काठमाडौ, फाल्गुन २८ - सामसुङको हाइइन्ड सेट बोक्नेहरूको प्रतीक्षाको घडी सकिएको छ। हाइइन्ड स्मार्टफोनको बजार कब्जा गर्न एप्पलको आइफोनसँग तीव्र प्रतिस्पर्धा गरिरहेको दक्षिण कोरियाली ह्यान्ड सेट उत्पादक सामसुङले आफ्नो फ्ल्यागसिप मोडल ग्यालेक्सी एस सिरिजको पछिल्लो संस्करण सार्वजनिक गरेको छ।संयोग पनि कस्तो? एप्पलसँग आइफोनको पेटेन्ट नक्कल गरेको आरोपमा मुद्दा खेप्दै/करोडौं डलर क्षतिपूर्ति तिर्दै आएको सामसुङले फेरि आइफोनजस्तै रूप/रङ, आकार/प्रकारमा ग्यालेक्सी एस ६ र एस ६ एज दुई मोडल सार्वजनिक गरेको छ।
एप्पलले सँगै आइफोन ६ र ६ प्लस सार्वजनिक गरेजस्तै। नेपालमा सामसुङको मोबाइल बिक्रेता इन्टरनेसनल मोबिलिटी सर्भिसेजका अध्यक्ष डिकेस मलहोत्रा सामसुङले ती दुई पि्रमियम सेट सार्वजनिक गर्न स्पेनको बार्सिलोनामा आयोजित समारोहमा सहभागी थिए।
मोबाइल फोनको महामेला वल्र्ड मोबाइल कंग्रेस सुरु भएको दिन आयोजित भव्य समारोहमा ग्यालेक्सी एस ६ र एस ६ एज सार्वजनिक भएको प्रत्यक्ष हेरेका मलहोत्राले भाइबरमा कुरा गर्दै ग्यालेक्सी एसका पछिल्लो भर्सनका दुई सेटले मोबाइलप्रेमीलाई फरक स्वाद दिने दाबी गरे।
उनले ती सेट चलाउँदाको अनुभव बाँड्दै भने, 'दुवै सेटमा अगाडि र पछाडि ग्लास प्रयोग गरिएकाले 'पि्रमियम' लुक देखिन्छ।' उनका अनुसार सामसुङले यसअघिका फ्ल्यागसिप सेटको फिचरमा फोकस गरेकामा एस ६ र एस ६ एजलाई डिजाइनमा फोकस गरेको छ। उनलाई दुईमध्ये एस ६ एज उत्कृष्ट लाग्यो रे।
'झर्दा फुट्लाजस्तो लाग्ने दुवैतिर सिसा भएका ती सेटका डिजाइन साँच्चै उत्कृष्ट लाग्छन्,' उनले भने, '१६ मेगापिक्सेलको क्यामरा, इनबिल्ड ब्याट्री, इनविल्ड वायरलेस चार्जर यसका उत्कृष्ट विशेषता हुन्।'
यसको क्यामेराले लोलाइटमा समेत उत्कृष्ट तस्बिर खिच्न सक्छ। 'सेट सार्वजनिक समारोहमा मान्छे नचिन्ने अँध्यारोमा समेत उत्कृष्ट फोटो खिचेर देखाइएको थियो,' उनले भने। उनका अनुसार यसपालि सामसुङले पहिलोपटक गि्रनकलरमा एस ६ एज बजारमा ल्याएको छ।
ग्यालेक्सी एस सिरिजमा सामान्य परिवर्तन गरेर नयाँ भर्सन बजारमा उतार्दै आएको कम्पनीले यसपटक यसको डिजाइनका साथै बनाउन प्रयोग गरिएका सामग्रीमा ठूलो परिवर्तन गरेको छ।
कामचलाउ प्लास्टिकको कभरको सट्टा यसले आकर्षक मेटालिक बडीमा दुवै सेटलाई उतारेको छ। अधिकांशले यी सेटलाई सामसुङको फ्याक्ट्रीबाट निस्केको अहिलेसम्मको सुन्दर फोन भनेका छन्। यसमा पूर्णतः मेटल र ग्लासको प्रयोग छ। एस ६ र एस ६ एजफोन एक अर्कोसँग केही मिल्दाजुल्दा छन्, केहीमा विल्कुलै फरक। ग्यालेक्सी एस ६ अरू फोनभन्दा त्यति फरक नदेखिए पनि एस ६ एजको डिजाइन आकर्षक छ। यसको लम्बाइका दुई किनारामा कभ्र्डग्लास डिस्प्ले छ।
सामसुङका अनुसार ग्यालेक्सी एस ६ एजमा प्रयोग गरिएको ग्लास ८ सय डिग्री सेल्सियसमा तताएर बंग्याइएको हो। दुवै सेटमा कोर्निङ गुरिल्लाग्लास ४ प्रयोग छ। फोनको चारैतर्फ मेटलको प्रयोग छ।
ग्यालेक्सी एस ६ र एस ६ एज दुवैमा ५.१ इन्चको क्वाड एचडी डिस्प्ले छ। यसले ५७७ पीपीआई सपोर्ट गर्छ। यी दुवै फोनको स्त्रिmन जत्तिकै उत्कृष्ट कुनै स्मार्टफोन बजारमा नआएको दाबी छ। दुवै सेटमा सामसुङले अक्टाकोर एक्सिनस प्रोसेसर प्रयोग गरेको छ।
दु्रत गतिमा चल्ने प्रोसेसरलाई ३ जीबी र्यामले अझ सघाउँछ। दुवैमा एन्ड्रोइड ललिपप ५.० अपरेटिङ सिस्टम छ। फोनमा बाह्य मेमोरी प्रयोग गर्न सकिने छैन। नआत्तिनुहोस्, सामसुङले यी सेट पर्याप्त आन्तरिक मेमोरीमा उपलब्ध गराउँदै छ। ती सेट ३२, ६४ र १ सय २८ जीबी स्टोरेजमा बजारमा उपलब्ध हुने छन्।
दुवै सेटमा १६ मेगापिक्सेलको क्यामेरा, अप्टिकल इमेज स्टेबलाइजेसनका साथ उपलब्ध छ। त्यस्तै सेल्फी खिच्न अर्को ५ मेगापिक्सेल प|mन्ट फेसिङ क्यामेरा छ। यसको क्यामेरामा अटोमेटिङ फोकस ट्याकिङ फिचर छ।
यसले तीव्र गतिमा रहेको अब्जेक्टलाई फोकसमा ल्याएर तस्बिर खिच्न सक्छ। यसमा प्रयोगकर्ताले ब्याट्री हटाउन सक्दैनन्, आइफोनमा जसरी हटाउन सकिँदैन। एस ६ मा २ हजार ५ सय ५० एमएएच र एस ६ एजमा २ हजार ६ सय एमएएचको ब्याट्री छ। यसलाई वायरलेस चार्जरबाट चार्ज गर्न सकिन्छ।
यसअघिको एस ५ मा वायरलेस चार्ज गर्न यसको कभर चेन्ज गर्नुपथ्र्यो। यसको ब्याट्री अरूको भन्दा डेढ गुना छिटो चार्ज हुने सामसुङको दाबी छ। उसका अनुसार यो सेट १० मिनेट चार्ज गर्दा १० घन्टा काम गर्छ।
सामसुङले नेपालमा यी दुई सेट अपि्रल दोस्रो सातातिर सार्वजनिक गर्ने आईएमएस अध्यक्ष मलहोत्राले बताए। यी सेट कति मूल्यमा उपलब्ध होलान्? 'मूल्य तय भएको छैन,' मलहोत्राले स्पेनबाट भने, 'एस ६ को ८० हजारदेखि ९० हजार रुपैयाँ र एस ६ एजको ९० हजारदेखि १ लाख रुपैयाँसम्म पर्ने अनुमान गरेका छौं।'
-ekantipur.com
Post a Comment