0
रौतहट, फागुन २० गते । जिल्लामा बालविवाह रोक्न महिला तथा किशोरी समूह नै बनाएर सक्रिय छन् ।विभिन्न गाविसमा ७०० भन्दा बढी महिला समूह बनाएर बालविवाह रोक्न चार वर्षअघिदेखि लागिपरेका छन् ।
जिल्लाका १६ वटा गाविसका ५०० भन्दा बढी किशोरी समूह बनाएर बालविवाहविरुद्ध लागेका छन् । दुई वर्षभित्रमा बालविवाह २० प्रतिशतमा झार्ने उद्देश्यका साथ रौतहटमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।
जिल्लामा प्रत्येक १०० विवाहमा ३९ वटा बालविवाह हुने गरेको जानकारी दिँदै त्यसलाई २० वटामा दुई वर्षभित्र झार्न कार्यक्रम भइरहेको महिला सुरक्षा दबाब समूह रौतहटका कार्यक्रम संयोजक टीका घिमिरेले बताउनुभयो ।
सन् २०१२ मा ५२ प्रतिशत बालविवाह हुने गरेकामा सन् २०१४ मा ३९ प्रतिशतमा झरेको जिल्ला विकास समिति रौतहटले जनाएको छ ।
पालन पोषणमा खर्च हुने, छोरी ठूलो हुँदासम्म विवाह नगर्दा समाजले नराम्रा कुरा गर्ने, ठूलो भएपछि छोरीको विवाह गर्दा दाइजो बढी दिनुपर्नेजस्ता अज्ञानता समाजमा रहेकाले सानै उमेरमा छोरीको विवाह गरिदिने चलन रहे पनि गाउँगाउँमा चेतनामूलक कार्यक्रमबाट अभिभावकमा चेतना बढ्नुले बालविवाह घट्दै गएको महिला सुरक्षा दबाब समूह रौतहटकी अध्यक्ष तथा महिला अधिकारकर्मी देवकी नेपालको भनाइ छ ।
पछिल्लो जनगणनाअनुसार रौतहटमा १० वर्षभन्दा कम उमेरमा विवाह गर्ने दुई हजार ९४ जना बालिका रहेका छन् भने १० देखि १४ वर्ष उमेरमा विवाह गर्ने ३५ हजार ६०६ किशोरी रहेका छन् ।
जिल्लामा मुस्लिम समुदायका साथै राम, पासवान, हजरा, डोम, चमार, धागड तथा थारु समुदायका जातिमा छोराछोरीको सानै उमेरमा विवाह गरिदिने चलन बढी रहेको पाइन्छ ।
बालविवाह गराउन भूमिका खोल्ने जो कोहीलाई कडाइका साथ कानुनी दायरामा ल्याउन सके समस्या समाधान हुने कानुन व्यवसायी अनन्त अधिकारीको सुझाव रहेको छ ।
छोराछोरीलाई नपढाउने, सानै उमेरमा विवाह गरिदिने चलन रहेकाले बालविवाह रोक्न आमाबाबुलाई चेतना दिनुपर्ने सिम्राभवानीपुर गाविसका स्थानीय शेष जवाहिर मियाले बताउनुभयो ।
कानुनमा १० वर्षभन्दा कम उमेरका बालबालिकालाई विवाह गरिदिए छ महिनादेखि तीन वर्षसम्म कैद र रु १० हजार जरिवाना तथा १० वर्षदेखि माथि १४ वर्षभन्दा कम उमेरमा विवाह गरिदिए तीन महिनादेखि एक वर्षसम्म कैद र रु पाँच हजार जरिवानाको व्यवस्था छ ।
बालविवाह कानुनी अपराध भए पनि उजुरी नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुबाबु थपलियाले जानकारी दिनुभयो । रासस
-www.gorkhapatraonline.com

Post a Comment

 
Top