नयाँदिल्ली : भारतको केन्द्र सरकारले १६ डिसेम्बरको सामूहिक बलात्कार घटना ज्यादै संवेदनशील भएको बताउँदै बिबिसीले बनाएको वृत्तचित्र आफ्नो साइटबाट हटाउन आग्रह गरेपछि युट्युबले हटाएको छ।
भारत सरकारको विरोध हुँदाहुँदै पनि बिबिसीले बेलायतमा बुधबार राति यसको प्रसारण गर्नुका साथै युट्युबमा अपलोड गरेको थियो। सञ्चार तथा सूचना प्रौद्योगिकी मन्त्रालयले युट्युबलाई उक्त वृत्तचित्र हटाउन आदेश दिएको थियो। युट्युबमा यसको भिडियो उपलब्ध भएपछि रातमै यो थुप्रै पटक हेरिएको थियो।
यो वृत्तचित्र देखाएका कारण भारत सरकारले बिबिसीलाई कानुनी कारबाही गर्ने जानकारी दिएको छ। बिबिसीले सामूहिक बलात्कारका दोषीको विवादास्पद अन्तर्वार्ता भारतीय गृहमन्त्रालयको अनुमति नभए पनि यो वृत्तचित्रमा समावेश गरेको हो।
भारतीय गृहमन्त्रालयले बिबिसीलाई त्यसो नगर्न भनेको थियो। पूर्व केन्द्रीय गृहमन्त्री सुशील कुमार सिन्देले बिबिसीलाई यस्तो अनुमति नदिएको बताएका छन्।
बिबिसीले भने भारत सरकारसमक्ष उक्त वृत्तचित्र भारतबाहिर अब नदेखाइने बिहीबार जानकारी दिएको छ। दिल्लीको एक अदालतले तिहाड जेलमा लिइएको बलात्कारका दोषी मुकेश सिंहको अन्तर्वार्ता अर्को आदेश नभएसम्मका लागि प्रसारण गर्न रोक लगाएको थियो। अन्तर्वार्तामा मुकेश बलात्कृत युवती, महिला र प्रहरी विरुद्ध अपमानजनक शब्द प्रयोग गरेका छन्।
बुधबार भारतीय संसद्मा उक्त वृत्तचित्रलाई लिएर विवाद भएको थियो। वृत्तचित्र निर्माता लेस्ली अडविनले प्रधानमन्त्रीले पनि एकपटक हेर्नुपर्ने र त्यसपछि निर्णय गर्नुपर्ने बताएकी छन्।
अडविनले यस्तो वृत्तचित्र बनाएर भारतको बदनाम गर्ने आफ्नो चाहना नभएको बताइन्। वृत्तचित्रको प्रसारण रोक्दा अन्तर्राष्ट्रियस्तरमा भारतमा सेन्सरसिप हुने भनेर आलोचना हुने दाबी गरिन्।
बिबिसीले अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा उक्त वृत्तचित्र प्रसारण गर्ने निर्णय गरेको थियो। भारतमा अदालतले वृत्तचित्र स्थगित गर्ने निर्णय सुनाइएपछि हतार हतारमा बुधबार राति प्रसारण गरिएको हो। बिबिसीले प्रभावशाली वृत्तचित्र जनताले नगुमाऊन् भनेर समयपूर्व नै प्रसारण गरेको बताएको छ। -एजेन्सी
'बिबिसीलाई कारबाही गर'
नयाँदिल्ली : सामूहिक बलात्कृत युवतीका परिवारजनले वृत्तचित्रविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्। आफ्नी छोरीको नाम सार्वजनिक गरिएको भन्दै यस्तो चेतावनी दिएका हुन्। ती युवतीका पिताले छोरीको नाम र तस्बिर देखाइनु अमानवीय कार्य भएको बताएका छन्।
बिबिसीजस्तो मिडियाले पीडित व्यक्तिको तस्बिर र नाम सार्वजनिक गरिनु लज्जास्पद भएको युवतीका पिताले बताए। उनले बिबिसीले भारत सरकारको चुनौती दिएको र यसको उचित जवाफ भारतले दिनुपर्ने उनको भनाइ छ।
सरकारले बिबिसीलाई कडा कारबाही गर्नुपर्ने पनि उनले माग गरेका छन्। दोषी मुकेशको भनाइ एकदमै आपत्तिजनक भएको उनले बताएका छन्। पीडितका बाबुले भने, 'सरकारले जे निर्णय गर्छ, त्यसमा म पूरै सहमत छु। वृत्तचित्र भनेको समाजको ऐना हो। जेलभित्रै यस्तो अन्तर्वार्ता दिने व्यक्ति जेलमुक्त भएपछि के गर्ला।
- annapurnapost.com
Post a Comment