0

तस्वीरः श्रीलंकाका क्रिकेटर कुमार सांगाकारा


काठमाडौं, २७ फाल्गुन ।
श्रीलंकाका क्रिकेटर कुमार सांगाकाराले एक दिवसीय क्रिकेटको इतिहासमा लगातार चार शतक बनाउने कीर्तिमान रचेका छन् ।
अष्ट्रेलिया र न्यूजिल्यान्डको संयुक्त आयोजनामा जारी विश्वकप क्रिकेटअन्तर्गत बुधबार स्कटल्यान्डविरुद्धको खेलमा शतक बनाउँदै सांगाकाराले एक दिवसीय क्रिकेटमा लगातार चार शतक बनाउने कीर्तिमान रचेका हुन् । यसअघि कुनै पनि खेलाडीले लगातार चार शतक बनाउन सकेका थिएनन् ।
होबार्टमा भएको खेल श्रीलंकाले १ सय ४८ रनको फराकिलो अन्तरले जित्यो । पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतिमा ३ सय ६३ रन बनायो । सांगाकाराले ९५ बलमा १ सय २४ रन जोडे भने तिलकरत्ने दिलसानले १ सय चार रन जोडे । यसैगरी, कप्तान एन्जेलो म्याथ्युजले २१ बलमा ५१ रन बनाए ।
जवाफमा स्कटल्यान्डले ४३ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय १५ रनमात्र जोड्न सक्यो । फ्रेडी कोलेमनले ७० रन बनाएको इनिङलाई सस्तैमा समेट्ने क्रममा नुवन कुलसेकरा र दुस्मन्था चमीराले समान ३–३ विकेट लिए ।

सांगाकारा विश्वकपमा सर्वाधिक आउट गर्ने विकेटकिपर पनि बनेका छन् । सांगाकाराले ३६ खेलमा ५४ खेलाडीलाई आउट गरिसकेका छन् । यसअघि अष्ट्रेलियाका एडम गिलक्रिष्टको नाममा ५२ खेलाडी आउट गरेको कीर्तिमान थियो ।

समूह चरणका सबै ६ खेल खेलिसकेको श्रीलंका चार खेल जित्दै क्वार्टरफाइनलमा पुगेको छ भने एक खेल नजितेको स्कटल्यान्डले अन्तिम खेल खेल्न बाँकी छ ।
विश्वकपअन्तर्गत बिहीबार पनि एउटामात्र खेल हुँदैछ । दक्षिण अफ्रिकाले युएईसँग खेल्दैछ । यो खेल जिते दक्षिण अफ्रिका समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुग्नेछ । अंकविहीन युएई भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

Post a Comment

 
Top