0
महाकाली नदीको बीच भागमा रहेको टापूमा अलपत्र परेका स्थानीय बासिन्दाको सुरक्षा निकायले १९ फागुन दिउँसो उद्धार गरेको छ । बालुवा र गिट्टी सङ्कलन गर्न नदीको बीचमा रहेको टापूमा पुगेका उनीहरु पानीको बहाव बढेपछि त्यहाँ फसेका थिए । नेपाली सेनाको महेन्द्रनगरस्थित हनुमानध्वज गुल्मका गुल्मपति सेनानी डम्बरबहादुर आलेमगरले दिएको जानकारीअनुसार भीमदत्तनगरपालिका–१३ ऐरी घाट क्षेत्रमा महाकाली नदीको बीच टापूमा फसेका बालबालिकासहित ३५ जनाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरी र सेनाको टोलीले डुङ्गाको सहारामा उनीहरुलाई सकुशल उद्धार गरेको सेनानी आलेमगरले बताए । तीन दिन लगातार परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदीको बीच टापूमा बालुवा, ढुङ्गा सङ्कलन गर्ने र गिट्टी कुट्नेहरु अलपत्र परेका हुन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेका अनुसार महाकाली नदी किनारको टापूमा गएर बालुवा, ढुङ्गा र गिट्टी सङ्कलन गर्ने उनीहरु त्यहीं छाप्रा बनाएर काम गर्दथे । आज एक्कासि पानी बढेपछि समस्या भएको हो ।
-http://www.himalkhabar.com

Post a Comment

 
Top