काठमाडौँ, २८ फागुन । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले हालै आफ्नो तलबमा १० प्रतिशत कटौती गरेका छन् । तर,योभन्दा पनि अन्य मुलुकमा राष्ट्रपति या प्रधानमन्त्री कसको तलब कति छ ?
अमेरिकी राष्ट्रपति बाराक ओबामा देशको अर्थतन्त्र विश्वकै ठूलो भएजस्तै तलब पनि बढी खानेमा अगाडि देखिएका छन् । ओबामाले तलबमार्फत वार्षिक ४ लाख डलर बुझ्ने गरेका छन् । अमेरिकामा जर्ज डब्लु बुस राष्ट्रपति भएपछि तलब दोब्बर पारिएको थियो । यसका अलाबा ओबामाले ५० हजार डलरको करमुक्ति खर्च पाउने प्रावधान छ ।
बढी तलब खाने दोस्रो स्थानमा क्यानडाका स्टेफेन हार्पर देखिएका छन् । उनको तलब २ लाख ६० हजार डलर छ । २ लाख ३४ हजार ४ सय डलरसहित जर्मनीका चान्सलर एंगेला मर्केल तेस्रो स्थानमा छिन् । मर्केल र उनका मन्त्रीहरुको तलब मार्चको सुरुमा २.२ प्रतिशतले वृद्दि गरिएको सरकारी तथ्यांकले देखाएको छ ।
विकाशशील मुलुक भए पनि धेरै तलब खानेमा दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा छन् । उनको तलब २ लाख ३२ हजार ५०० डलर छ ।
बेलायतका प्रधानमन्त्रीको तलब २ लाख १४ हजार छ । त्यसपछि सबैभन्दा बढी तलब खानेमा जापानी प्रधानमन्त्रीको नाम आउँछ । उनको वार्षिक तलब २ लाख २ हजार छ ।
फ्रान्सका राष्ट्रपति फास्वा ओल्यान्ड वार्षिक १ लाख ९४ हजार तलब बुझ्छन् । बढी तलब खानेमा उनी सातौं नम्बरमा छन् । रुसका राष्ट्रपति भने आठौं स्थानमा पर्छन् । उनले वार्षिक १ लाख ३६ हजार बुझ्छन् । त्यसपछि बढी तलब खानेमा इटालीका माटिओ रेन्ज र ब्राजिलका डिल्मा रौसेफ छन् । आजको कारोबार दैनिकमा खबर छ ।
-dainiknepal.com
Post a Comment