काठमाडौं, ३० फागुन । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यात्रुका सामान समयमा नल्याएर दुःख दिएको भन्दै एयर अरेबिया र फ्लाई दुबईलाई उडान रद्द गर्नसक्ने चेतावनी दिएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) का नेपाल उडान गर्ने सस्तो टिकट दरका यी दुई एयरलाइन्सले यात्रुका लगेज समयमा नल्याएर दुःख दिएको गुनासो बढेपछि पत्र काटेर त्यस्तो चेतावनी दिइएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए।
उनका अनुसार टर्किस एयरलाइन्सको जहाजले धावनमार्गमा अवरोध गरेपछि बजेट एयरलाइन्सले यात्रुमात्रै ल्याउने तर ब्यागेज समयमा नल्याउने गरेको गुनासो बढेको बताए।
एयर अरेबिया र फ्लाई दुबईले यात्रुका लगेज चार दिनसम्म पनि नल्याएको गुनासो छ ।
बजेट एयरलाइन्समा आउने अधिकांश यात्रु वैदेशिक रोजगारीमा गएर घर फर्किएका मुलुकभरका यात्रु हुन्छन्।
ब्यागेज नआउँदा घर जानै रोकिने, दिनदिनै विमानस्थल धाउनुपर्ने, काठमाडौंका होटेलमा बस्नुपर्दा अनावश्यक खर्च बढ्ने र सामान हराउने हो कि भन्ने चिन्ता हुने गरेको गुनासो यात्रुले गरेका छन्।
टर्किस एयरको जहाजले यही फागुन २० गतेदेखि चार दिनसम्म विमानस्थलको धानमार्ग अवरुद्ध बनाएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
यसले गर्दा यात्रु चाप बढेको भन्दै एयर अरेबिया, फ्लाई दुबई, इत्तिहाद, मलेसियन एयर, मालिन्दो, एयर एसिया र कतार एयरवेजले यात्रुका ब्यागेज ल्याउन तीनचार दिनसम्म ढिलो गरेका थिए।
यसमा पनि एयर अरेबिया र फ्लाई दुबईका ब्यागेज नआउने समस्या बढेको गुनासो यात्रुको छ।
मन्त्रालयले यी दुई वायुसेवालाई कडा चेतावनीसहितको पत्र मंगलबार बेलुका नै लेखे पनि शुक्रबार बेलुकासम्म पनि छुटेका सबै ब्यागेज आइपुगेका छैनन्।
विमानस्थलस्थित लस्ट एन्ड फाउन्डका प्रबन्धक कोमलविक्रम राणाले एयर अरेबियाले शुक्रबार बेलुकासम्म पनि चार दिनयताका यात्रुका लगेज नल्याएको बताए।
राणाका अनुसार सबैभन्दा धेरै यात्रुका ब्यागेज नल्याउनेमा एयर अरेबिया छ।
उक्त वायुसेवाले शुक्रबार बेलुकासम्म करिब १२ सयजना यात्रुका ब्यागेज ल्याउनुपर्ने थियो।
उक्त वायुसेवाले शुक्रबार १०/१२ टन ब्यागेज ल्याउने जानकारी दिए पनि साँझसम्म नआइपुगेको उनले बताए।
लस्ट एन्ड फाउन्डमा दैनिक दुई सय ५० देखि तीन सयजना यात्रुको गुनासो आउने गरेको जानकारी राणाले दिए।
-dainiknepal.com
Post a Comment