0

नेपालका मध्यमवर्ग लक्षित फाेन



काठमाडौ, फाल्गुन २९ - आर्क स्ट्रोम के ४० अन गर्ने वित्तिकै एउटा मीठो धुन बज्छ । धुन नेपाली मादल सहितको छ । अनि खुल्छ, मध्यमवर्ग लक्षित एउटा स्मार्ट फोन । मोबाइलको स्वदेशी माग हेरेर छुट्टै ब्रान्ड बनाउने गरी आर्क मोबाइल बजारमा छिरेको छ । गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले यो ब्रान्डका बिभिन्न स्मार्टफोन उतारेको हो । स्ट्रोम के ४० जस्तै यसका अधिकासं मोडल नेपालका मध्यमवर्ग लक्षित छन् ।

त्यो यसमा 'बिल्टइन' गरिएका एप्लिकेसनले पनि बताउँछन् । कम्पनीले सबै मोबाइलमा हुने फेसबुक, जी-मेलदेखि नेपाली पात्रो, वाट्स एप, भाइबर, ओपेरा मिनिलाई पनि सुरुमै राखिदिएको छ । नेपालमा धेरै डाउनलोड हुने यी एप मोबाइलमै राखेर कम्पनीले ग्राहकको इच्छा बुझ्न खोजेको छ । साथै किङसफ्ट अफिस एपलाई पनि राखिदिएको यो मोबाइलले कामकाजीलाई लक्षित गर्दै वर्ड, एक्सेलदेखि पि्रजेन्टेसनसम्मका काम हुने छ ।

अब कुरा गरौ, यसका प्राविधिक पक्षको । एक गिगाहर्जको ड्युल कोर प्रोसेसर यसमा छ । ड्युल कोर प्रोसेसर मल्टी टास्क सजिलो बनाउनका लागि उपयोगी हुन्छन् । जसको अर्थ यसले मोबाइल चलाउँदा ढिला हुने, एप्लिकेसन अड्किने समस्या कम हुन्छ । यसमा ४ इन्चको डब्लूबीजीए डिस्प्ले राखिएको छ । जुन ठिक्कको र चल्तीका स्मार्टफोनको आकार हो ।

एन्ड्रोइडको ४ दशमलव ४ दशमलव २ अर्थात किटक्याट अपरेटिङ सिस्टम यसमा छ । जुन पछिल्ला अधिकासं मोबाइलमा आएको छ । मोबाइल खरिद गर्दा हेर्ने अर्को कुरा हो क्यामेरा । सेल्फी क्रेजीका लागि यसले अघिल्लो भागमा पनि क्यामेरा दिएको छ । पछिल्लो भागमा ३ मेगापिक्सेल र अघिल्लो तर्फ १ दशमलव ३ मेगापिक्सेलको छ । उज्यालो र घाम लागेको समयमा क्यामेराले जगबकै तस्विर निकाल्छ ।

अध्यारोका लागि पनि फ्ल्यास राखिएको छ । मेगापिक्सेललाई छाड्ने हो भने राम्रो कुरा मोबाइलले फोटोलाई एडिट गर्न केहि सुविधा राखिदिएको छ । प|mेम जोड्न देखि अध्यारो/उज्यालो मिलाउन र बिभिन्न थिममा फोटोलाई लैजान सकिन्छ । स्टोरेजका लागि ५ सय १२ एमबी र्‍याम र ४ जीबी रोम मोबाइलमा राखिएको छ । ३२ जीबीसम्म माइक्रो एसडी कार्ड यसमा थप्न मिल्छ ।

मोबाइलमा दुई सीम लाग्छ र थ्रीजी सर्पोट गर्छ, १ सय १५ ग्रामको यो मोबाइलको टक टाइम ६ घन्टा छ । यो मोबाइल १२ महिनाको वारेन्टी सहित बजारमा थुप्रै प्रतिस्पर्धी सँग भिड्दै छ । कम्पनीका अनुसार यसको मूल्य ८ हजार २ सय रूपैयाँको हाराहारी छ । यही मूल्यमा थुप्रै भारतिय ब्रान्डका मोबाइलसँग आर्कलाई दाज्न सकिन्छ ।

-ekantipur.com

Post a Comment

 
Top