तीन दिनदेखि मौसम सफा भएपछि त्रिभुवन राजपथ दृश्यमय भएको छ। उकालोका रमाइला बस्ती, प्रष्ट देखिएका हिमाल र राजमार्गका दुवैछेउ लटरम्म फुलेका लालीगुराँसले गर्दा यो बाटो लोभलाग्दो देखिन थालेको हो।
२०१३ सालमा तयार भएको यो राजमार्ग काठमाडौं उपत्यकालाई मधेससँग जोड्ने पहिलो बाटो हो। यो बाटो भएर वीरगन्जदेखि काठमाडौंसम्मको यात्रा गर्दा दुई हजार ४ सय ८८ मिटर उचाइमा रहेको सिमभञ्ज्याङसमेत नाघ्नु पर्छ।
पछिल्लो समय उपत्यकालाई मधेससँग जोड्ने पृथ्वी राजमार्गसहित अरु पनि वैकल्पिक बाटा तयार भएपछि यो बाटोको चलनचल्ती विस्तारै घट्दै गएको छ। निजी सवारीसाधन भएका यात्री, हेटौंडाबाट चल्ने केही सार्वजनिक सवारी साधन र काठमाडौंबाट खाली फर्किँदै गरेका ट्रकहरू मात्र हिजोआज भेटिने गर्छन्।
हिउँ परेको बेला र लालीगुराँस फुलेको बेला यसै बाटोमा पर्ने सिमभञ्ज्याङ र दामनलगायत स्थानमा बस्न पर्यटकसमेत पुग्ने गरेका छन्। मौसम सफा भएका दिन दामनस्थित एभरेस्ट भ्यु टावरबाट सगरमाथादेखि धौलागिरीसम्मका हिमश्रृंखला देखिने गर्छ।
-setopati.com
Post a Comment