पाँच फिट उचाइ बढ्यो, ग्राभेल रोल पनि सम्पन्न भयो
२३ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबारदेखि भासिएको टर्किस एयरको जहाजलाई खाल्डोबाट पाँच फिट माथि उठाएर सन्तुलनमा ल्याइएको छ । शुक्रबार रातभरिको प्रयासपछि जहाजलाई काठमाथि ब्लाडर फुलाएर उचाल्न प्राविधिक टोली सफल भएको हो ।शुक्रबारै जहाजलाई ब्लाडरमार्फत उठाइएको भए पनि उचाइ कम हुँदा चक्का फेर्न र ग्राभेल रोल गर्न मिलेको थिएन । अहिले जहाजको ल्यान्डिङ गियर (पछाडिको चक्का) ४ फिटको काठको आधार र ब्लाडरको माध्यमबाट उचालिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रबन्धक पूर्णप्रसाद चुडालले जानकारी दिए ।
जहाजको नोज गियर (अगाडिको चक्का) शुक्रबार नै ३० टनको ट्रेलरमा राखिसकिएको छ । ‘जहाज उठाएपछि ल्यान्डिङ गियरमा आवश्यक चक्काहरु फेरिसकेका छौं’ प्रबन्धक चुडालले अनलाइनखबरसँग भने- ‘अब प्राविधिकहरु जहाज तान्नका लागि तयारी गरिरहेका छन् ।’
जहाज गुडाएर धावन मार्गमा ल्याउन आवश्यक पर्ने बाटोसमेत ग्राभेलिङ गरेर रोल गरिसकेको छ । चुडालका अनुसार फलामको पाता र ग्राभेल राखेर बाटो मजबुद बनाइएको छ ।
जहाज सन्तुलनमा आएपछि लगेज तथा कार्गो बाहिर निकाल्न प्राविधिक टोली सफल भएको छ । जहाजमा रहेको १७ टन इन्धन भने प्राविधिक कारणले अहिले ननिकाल्ने प्रबन्धक चुडालले जानकारी दिए ।
जहाजलाई अगाडिबाट ट्रेलरले धकेल्नेछ भने पछाडिबाट टोइङ बारले तान्ने बताइएको छ । जहाजलाई पहिला धावन मार्गमा ल्याइने छ, त्यसपछि धावन मार्गबाट ट्याक्सी वे हुँदै पार्किङ स्थल पुर्याइने छ ।
यदि तान्ने क्रममा थप समस्याहरु नदेखिए दिउँसोसम्म जहाजलाई पार्किङ स्थलसम्म पुर्याउन सकिने विश्वासमा प्राविधिक टोली रहेको छ । बाटो कमजोर भएको हुँदा जहाज भासिने लगायतका समस्याहरु देखिने पनि प्रवल सम्भावना रहेको बताइन्छ ।
जहाज तानेर धावन मार्गमा नल्याउँदासम्म विमानस्थल यति नै समयदेखि सञ्चालन हुन्छ भनेर भन्न नसकिने प्रबन्धक चुडालले बताए । तर, विमानस्थल कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी शनिबार १० बजेसम्मका सबै उडान अवतरण बन्द गरेको घोषणा गरेको थियो । यो समय बेलुकासम्म लम्बिने निश्चित भएको छ ।
-www.onlinekhabar.com
Post a Comment