रङ र अबिर दलेर मनाइने रङहरुको पर्व होली नेपालमा बिहिबार र शुक्रबार मनाइयो । तर त्यसको झण्डै एक हप्ताअघि नै अस्ट्रेलियामा भने हाम्रै होली जस्तै गोलभेँडा पर्व मनाइयो । गोलभेँडाले हानाहान गरेर मनाइने उक्त गोलभेँडा युद्ध नामक पर्वमा झण्डै ३ लाख गोटा गोलभेँडाका गेडाको सत्यानास भयो ।
मेलबर्नको फ्लेमिंगटन रेसकोर्समा गत शनिवार झण्डै ५ हजार जना मानिसहरु भेला भएर गोलभेँडा युद्धमा सहभागी भए । स्पेनमा मनाइने ला टोमान्टिया नामक पर्व जस्तै अस्ट्रेलियालीले समेत हरेक वर्ष गोलभेँडा युद्ध गर्ने गर्छन् ।
यो पटकको गोलभेँडा युद्धमा सहभागीहरुलाई आयोजकहरुले आँखा जोगाउने चस्मा तथा बचावटको लागि पानी नछिर्ने र जिउमा असर नगर्ने शुट लगाउन आग्रह गरेका थिए ।
उक्त गोलभेँडा युद्धमा गोलभेँडाको गेडाले लागेर २ जना मानिस घाइते भएको बताइएको छ । यद्यपि उनीहरुको चोट कत्तिको गम्भीर हो भन्नेबारेमा भने खुलाइएन ।
उपभोगका लागि गुणस्तरहीन भएका वा कुहिन लागेर नष्ट गर्नुपर्ने अवस्थाका गोलभेँडाहरु उक्त युद्धमा हतियारको रुपमा प्रयोग गरिएका थिए । खाद्य अधिकारकर्मीहरुले यो गोलभेँडा युद्ध खाद्यान्नको दुरुपयोगको नमूना भएको आरोप लगाएपछि आयोजकहरुले आफुहरुको युद्धमा कुहिन थालेका वा प्रयोग गर्न नमिल्ने खालका बिगि्रसकेका गोलभेँडा मात्र प्रयोग गरिएको प्रष्टिकरण दिएका हुन् ।
हेरौँ यस्तो छ गोलभेँडा युद्धको दृश्य:
-www.onlinekhabar.com
Post a Comment