0



११ मार्च, काठमाडौं । विदेशबाट फर्किएका करिब ८ सय नेपाली यात्रुका लगेज हराएका छन् । मंगलबार विभिन्न समयमा अवतरण गरेका ८ वटा फ्लाइटमा सवार ७७२ नेपाली र विदेशी यात्रुका लगेज गायब भएका हुन् ।

विमानस्थल स्रोतका अनुसार एयर अरेबियाका १५०, फ्लाई दुबईका २५५, इत्तेहाद एयरका ५०, ओमानका ६०, कतार एयरवेजका ५५, मलेसियन एयरका १०० र मालिन्दो एयरका १०२ यात्रुका लगेज हराएका छन् । लगेज हराउने अधिकांश वैदेशिक रोजगारी र उच्च शिक्षा लिएर स्वदेश फिर्ता भएका नेपाली छन् । नेपाल घुम्न आएका विदेशी पर्यटकका सामान पनि हराएका छन् ।
विमानस्थल अवतरण गरेलगत्तै सामान खोज्न गएका यात्रुलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगम व्यवस्थापनले लगेज नभएको जानकारी दिएपछि यात्रु सम्बन्धित विमान कम्पनीसँग आक्रोशित बनेका छन् ।

विमानस्थल कार्यालयले भने टर्किस एयरलाइन्सको जहाज दुर्घटनापछि उडान तालिका अव्यवस्थित हुँदा सामान यत्रतत्र भएको हुन सक्ने भन्दै यात्रुलाई धैर्य गर्न आग्रह गरेको छ । विमानस्थल कार्यालयका टर्मिनल व्यवस्थापन प्रमुख टेकनाथ सिटौलाले यति धेरै सामान हराएको नभई उतैबाट जहाजमा राख्न छुटेको हुन सक्ने बताए ।


-tokyonepal.com

Post a Comment

 
Top