पक्षी संरक्षण सङ्घका फिल्ड वायोलोजिस्ट कृष्ण भुसाल र गिद्धविज्ञ ईश्वर चौधरीले सक्ला–१ लैखम जङ्गलपाखामा चिरकालिजको बथान नै फेला पारेको हो । यसअघि यसै सङ्घले जाजरकोटमा सुनगिद्धलगायत अन्य चार प्रजातिका दुर्लभ र लोपोन्मुख गिद्धको अध्ययन गरिसकेको छ । सुनगिद्ध गुँड फेला परेको जाजरकोट दक्षिण एसियामै दोस्रो जिल्ला हो ।
यसअघि पाल्पामा पनि एउटा गुँड फेला परेको थियो । पाल्पामा अर्को पनि गुँड फेला परेको छ । हालसम्म जाजरकोटसमेत सुनगिद्धका गुँड तीनवटा मात्रै फेला परेका छन् ।
लोपोन्मुख चिरकालिज जिल्लाका नायकवाडा, सक्ला, खगेनकोट, रग्दा, भगवती, रोकायगाउँ, झाप्रा, कार्कीगाउँ, सीमा, साल्मालगायत एक दर्जन गाविसका जङ्गलमा पाइने भएकाले चैत महिनाभित्रै सबै गाविसमा अध्ययन र अनुसन्धान हुने बारेकोट पर्यावरण तथा एकीकृत विकास अभियानले बताएको छ ।
जाजरकोटको उत्तरी भेग बारेकोट भेग जैविक विविधताले भरिपूर्ण मानिन्छ । यस भेगका नायकवाडा, रोकायगाउँ र सक्लामा यसअघि नै बहुसरोकारवाला वन कार्यक्रम र जिल्ला विकास समिति जाजरकोटले विज्ञहरु करनबहादुर शाह, पक्षी विज्ञ डाक्टर हेमसागर बराल, अर्जुन थापालगायत टोलीबाट विभिन्नपटक पर्यापर्यटनको सम्भावना र जैविक अनुसन्धान गरिसकेको छ । विज्ञहरुले जाजरकोटमा विश्वकै दुर्लभ वन्यवन्तु रेडपाण्डासमेत फेला पारेका छन् ।
संस्थाले जिल्लामा लोपोन्मुख गिद्ध, चिरकालिजलगायत पक्षी संरक्षणका लागी विशेष चेतनामूलक अभियान सञ्चालन गर्ने कृष्ण भुसालले बताउनुभयो । द्वन्द्वकालमा विस्थापित भएका जिल्ला वन कार्यालयका विभिन्न अङ्गहरु हालसम्म पुनःस्थापना नहुनु र जनशक्तिको अभाव भएकै कारण जिल्ला वन कार्यालयले पनि कुनै गस्ती नपठाउनुले जिल्लामा परम्परागत सिकारका कारण दुर्लभ वन्यजन्तु र बासस्थान विनास हुँदै गएका छन् ।
जिल्ला वन कार्यालयमा वन्यजन्तुको संरक्षणका लागि प्रचारप्रसार गर्न प्राप्त रकमको सदुपयोग हुन नसकेको स्थानीयवासीको गुनासो छ । रासस
-www.gorkhapatraonline.com
Post a Comment